कम्युनिष्टका कारण राष्ट्रियता र संविधान संकटमा

    0

    विर्तामोड । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कम्युनिष्टसत्ताको अयोग्यता र कुशासनबाट देशको राष्ट्रियता र संविधान संकटमा परेको बताउनुभएको छ ।
    नेपाली कांग्रेस झापाको आयोजनामा विर्तामोडमा सम्पन्न विरोधसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता महतले वर्तमान सरकारका कारण नेपाल शक्ति राष्ट्रहरुको चलखेल गर्ने स्थलमा परिणत भएको आरोप लगाउनुभएको छ । उहाँले सरकारले गोप्य कोठामा कुटनीतिक नियोगका प्रमुखहरुसँग सत्ता टिकाउने मोलमोलाई गरेको आरोप लगाउनुभएको हो ।
    चीन र भारतका कुटनीतिक नियोगका प्रमुखहरुको सक्रियताले आ–आफ्नो प्रभाव बढाउन खोजेको बताउँदै उहाँले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारकै कारण राष्ट्रियता र देशको सार्वभौमसत्ता कमजोर भएको धारणा राख्नुभयो ।
    ‘वर्तमान सरकार आम जनताको सरकार बन्न सकेन’– डा. महतले अगाडि भन्नुभयो–‘किसानले मल पाएका छैनन्, जनता कोरोनाको मारमा छन् , उपचार गर्न सक्ने अवस्थामा छैनन्, तर सरकार केही नेताको स्वार्थपूर्तिमा केन्द्रित छ ।’
    सरकारले विभिन्न गैरसरकारी संघसंस्थालाई अरबौं रकम बाडेको भन्दै उहाँले सरकारी रकम दुरुपयोग गरेर कार्यकर्ता नपोस्न सरकारलाई सचेत गराउनुभयो । उक्त रकम कोरोनाको उपचारका लागि खर्चन उहाँको सुझाव थियो ।


    कांग्रेसले बारम्बार उठाएका भ्रष्टाचारका मुद्धा प्रधानमन्त्री के.पी. ओलीले पेलेपछि माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले लिखित रुपमै भ्रष्टाचारको पेटारो खोलेको बताउँदै डा. महतले भन्नुभयो–‘स्वास्थ्य सामग्री खरिद, ओम्नी प्रकरण, बालुवाटार जग्गा प्रकरण, सुन काण्ड लगायत वर्तमान सरकारले गरेका दर्जनौं भ्रष्टाचारका काण्ड छन् । ती भ्रष्टाचारमा संलग्नको संरक्षण प्रधानमन्त्री आफैंले गरिरहनुभएको छ । यो भन्दा लज्जास्पद कुरा के हुन्छ ?’
    कांग्रेसको नेतृत्व र अगुवाइविना कुनै प्रणाली नेपालमा स्थापित हुनै नसक्ने चुनौती दिदै नेता महतले वर्तमान सरकारलाई लोकतान्त्रिक विधि, प्रक्रिया र पद्धतिको पूर्ण पालना गर्न सचेत गराउनुभयो ।
    ‘संविधान सम्झौताको दस्तावेज हो, यसमा कतिपय विरोधाभाषपूर्ण कुराहरु छन्’–नेता महतले भन्नुभयो । यसलाई सच्याउने नाममा संविधानमाथि धावा नवोल्न सरोकारवालालाई सचेत गराउनुभयो ।
    कम्युनिष्टको कुरा विकेको तर कांग्रेसले प्रचार–प्रसार गर्न नसक्दा काम नविकेको चर्चा गर्दै उहाँले कम्युनिष्ट नेतृत्वको सरकारलाई निर्वाचनअघि जनतालाई दिएको आश्वासन पूरा गरेर देखाउन चुनौति दिनुभयो ।
    नेपाली कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले जनप्रतिनिधिले बनाएको संविधानलाई कागजको खोस्टो बनाउने प्रयत्न नगर्न वर्तमान सरकारलाई चुनौति दिदै सरकारले जनहितमा सत्ता चलाउन नसक्दा ब्यवस्था विरोधीहरु सल्वलाएको धारणा राख्नुभयो । आफ्नो परिवार नै चलाउन नसकेका राजाले देश बचाउनै नसक्ने उहाँको भनाई थियो ।
    कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले जनमतको अपमान गरेको बताउँदै सिङ्गो देशलाई नै दुई कम्युनिष्ट नेताको रणमैदान बनाएको टिप्पणी गर्नुभयो ।
    देश र जनताका सवालमा एकशब्द नबोल्ने राष्ट्रपतिले नेकपाका दुई अध्यक्षबीचको झगडामा मध्यस्थता गरेर पदीय दुरुपयोग गरेको बताउँदै पदीय मर्यादामा बस्न र राष्ट्रपति पदको गरिमा कायम राख्न सुझाव दिनुभयो ।
    ‘वर्तमान सरकारले कुनै नयाँ काम गरेको छैन । कांग्रेस नेतृत्वकै सरकारले प्रस्ताव गरेको मध्य पहाडी लोकमार्गलाई मदन भण्डारी मार्ग भनिएको छ, दमकको आदिबासी रङ्गशालालाई मदन भण्डारी रङ्गशाला नामकरण गरिएको छ’–प्रसाईले भन्नुभयो–‘ कुनै नयाँ काम गरेर आफ्ना नेताको नाम जोड्नुस्, हामी त्यसको सम्मान गर्छौं ।’ वर्तमान सरकारले कुनै नयाँ योजना नल्याएको आरोप लगाउँदै उहाँले रेलमार्ग बनाउने नाममा काम नै शुरु नगरी अरबौं भ्रष्टाचार गरेको टिप्पणी गर्नुभयो ।
    कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वय भारतेन्दुकुमार मल्लिक र दिलिप राईले प्रधानमन्त्री आफैं डाक्टर, आफैं न्यायधिस बनेको बताउँदै भ्रष्टाचारीको संरक्षण नगर्न सुझाव दिनुभयो । सरकारका मन्त्रीहरुले गरेको अरवौं भ्रष्टाचार नदेख्ने अख्तियारलाई दुईतीनहजार घुस खाने कर्मचारी पक्रिएर बहादुरी प्रस्तुत नगर्न नेताद्वयको सुझाव छ ।


    नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा सभापतिको आशनबाट बोल्दै नेपाली कांग्रेसले बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सरकारको सर्वसत्तावादी चरित्र, कोरोना परिक्षण सामग्री खरिदमा भएको भ्रष्टाचार र अनियमितताको विरोध तथा अविलम्ब संसद बैठक बोलाउन मागसहित सडकमा उत्रिएको बताउनुभयो ।
    उपसभापति राम कट्टेलले स्वागत गर्नुभएको विरोधसभाको सञ्चालन सचिवद्वय ताराविर कटुवाल र प्रेम सम्बाहाम्फेले सञ्चालन गर्नुभएको थियो ।
    नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुमा दुब्र्यवहार गरिएपछि नेपाली कांग्रेस सडक प्रदर्शनको निर्णयमा पुगेको थियो । एकैदिन र एकैसमय पारेर गरिएको देशब्यापी विरोध प्रदर्शन अन्तरगत प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा कांग्रेसले मानवसागर उतारेको हो । पाँचवटै निर्वाचन क्षेत्र, १५ वटै स्थानीय तहका १३१ वटै वडाका क्रियाशिल कांग्रेस कार्यकर्ताहरुको सहभागिता रहेको विरोध प्रदर्शनमा मानव सागर उर्लिएको थियो ।
    विहानैदेखि विरोध प्रदर्शनको तयारीमा देखिएका कांग्रेस कार्यकर्ताले १२ बजे सुरुङ्गाबाट शुरु गरेको ¥याली २ बजे विर्तामोडमा आइपुगेर कोणसभामा परिणत भएको थियो । काँग्रेसको ¥यालीमा २० हजार बढीको सहभागिता रहेको जनाइएको छ ।¥यालीमा सहभागीले विर शहीद अमर रहुन्, नेपाली कांग्रेस जिन्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, संविधानविरोधी तत्व होसियार, शान्ति सुशासन कायम गरः भ्रष्टाचार अनियमितता बन्द गर, विधिको शासन पालना गर ः संसद बैठक आह्वान गर, कोरोना महामारी नियन्त्रण गर ः भ्रष्टाचारको छानवीन गर, किसानमारा सरकार चाहिदैन ः जनता ठग्न पाइदैन, जनता कोरोनाको मारमा ः नेकपा सत्ताको जितहारमा लगायतका नारा लगाएका थिए ।।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here