किसानलाई ज्यादति नगर

0

नेपाली किसानको हितमा योजा बनाउने र कृषि पेशालाई प्रर्वद्धन गरी कृषि उत्पादन निर्यात बढाएर बिदेशी मुद्रा आर्जन गर्नुपर्नेमा सरकार उदासिन बनेको छ । तराई मधेस र पहाडको चुरे भावर क्षेत्रमा लगाइएको धान बालीमा युरिया डिएपी जस्ता रसायनिक मलको अभाव खड्किएको छ । धान रोपेको २२ देखि ३० दिनभित्र युरिया मल छर्किनु (हान्नु) पर्नेमा नेपालमा मलको अभाव छ । किसानको धान समयमा मलखाद नपाएर पहेंलिएको छ । तर सरकारलाई बिसानको पीडामा कुनै मतलव छैन । सरकारले कृषि सामग्री कम्पनी मार्फत नेपाली किसानलाई मलखाद र किटनाशक औषधी, बिषधी बिक्री बितरण गर्दै आएको छ । बर्सेनी किसानले यो समस्या भोग्दै आउनु परेको छ । समयमा मलखाद खेती बालीमा लगाउन नपाउँदा उत्पादन घट्ने चिन्ताले किसानलाई सताएको छ । सत्तामा बस्नेलाई किसानको चिन्तामा कुनै सरोकार, चासो छैन ।

समग्र कृषि क्षेत्रको उन्नयन बिना नेपालको अर्थतन्त्रलाई उकास्न नसकिने बताएर कहिल्यै नथाक्ने कृषिमन्त्री घनश्याम भूषालको भाषण ब्यवहारमा ठूलो भिन्नता देखिएको छ । ओली सरकारका मन्त्रीहरुमध्ये अलि कम गन्हाएका भूषालले पनि माफियाको चक्करमा परेर समयमा किसानलाई मल उपलब्ध गराउन सकेनन् । प्रचण्डका घरवेटीलाई मलको ठेक्का दिएका मन्त्री भूषालले समयमै मल आपूर्ति गर्न नसकेकोमा ठेक्का रद्द गर्ने हिम्मत गर्न सकेका छैनन् । किसानले समयमा बालीनालीमा मल हाल्न पाएका छैनन् । समय बितेपछि भदौ, असोजमा मल भित्र्याएर कमिशन कुम्याउने कुराले किसानको हित हुन सक्दैन । नेपालको आपूर्ति प्रणाली शदियौंदेखि कमिशन, दलाली र भ्रष्टाचारको मोलमोलाईबाट गुज्रदै आएको छ । किसानले कहिल्यै पनि राज्यका तर्फबाट राहत अनुभूति गर्न पाएका छैनन् । वास्तविक किसानले राज्यको तर्फबाट नीतिगतरुपमा दिइएको राहत पनि कहिल्यै उपभोग गर्न पाएका छैनन् । बिचौलिया, दलाल र नक्कली किसानले यस्तो सहुलियत बीचबाटोबाटै गायब बनाइदिंदा सही किसान मर्कामा पर्दै आएका छन् ।

अहिले सरकारले रसायनिक मल उपलब्ध गराउन त सकेको छैन नै, किसानले भारतीय बजारबाट लुकीछिपी चर्को मूल्य तिरेर सिमा पार गराएको रसायनिक मल पनि पुलिस लगाएर पक्राऊ गराउने, बरामद गराउने र किसालाई दुःख दिने काम भइरहेको छ । अहिले साउनको महिना किसानले धान खेतमा रसायनिक मल लगाउने सिजन हो । यो सिजनमा सरकारले किसानलाई सरल तरिकाले मल उपलब्ध गराउनुपर्ने हो । यो कार्य त र सरकारमा बस्नेहरुले गरेनन् गरेनन्, बरु उल्टै किसानले अनेक कष्ट गरेर यो लकडाउनका बीचपनि भारतीय सिमा क्षेत्रबाट भित्र्याएको मल जफत गरेर किसानमाथि ज्यादती गरेको छ । भारतले नाकाबन्दी लगाएको अवस्थामा आन्तरिक आपूर्ति व्यवस्थालाई सहज बनाउन सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करीमा सरकारी तहबाट सहजीकरण भएको नेपाली जनताले बिर्सेका छैनन् । अहिले पनि किसानका लागि त्यही अवस्था हो । तसर्थ किसानलाई कि तुरुन्त रसायनिक मल उपलब्ध गराऊ, कि किसानले अनेक कष्ट गरेर ल्याएको मल पक्राऊ र जफत गर्ने कार्यलाई तत्काल बन्द गर । यो कुनै बम, बारुद र मानिसको जीवन बर्वाद पार्ने लागू पदार्थ होइन । यो त भोकोपेट भर्ने ती जीउँदा भगवानहरुले लगाएको खाद्यान्न बालीको उत्पादन बढाउने पदार्थ हो । सरकारमा बस्नेहरु किसानमाथि ज्यादति नगर । किसानलाई सहजरुपमा मल उपलब्ध गराऊ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here