बिर्तामोडमा लक डाउन हट्यो

0

बिर्तामोड । कोरोना भाइरस कोभिड १९ को प्रकोप बढन थालेपछि बिर्तामोड नगरपालिका क्षेत्रमा लगाइएको लकडाउन हटाइएको छ । आइतबार राति १२ बजेबाट लक डाउन खुला गर्ने निर्णय भएको बिर्तामोड नगरपाका मेयर ध्रुव शिवाकोटीले जानकारी दिनुभएको छ ।
समुदायमा कोरोना भाइरसको संक्रमण बढेको आशंका गर्दै बिर्तामोड नगरपालिकाले साउन १८ गतेदेखि लक डाउन गर्ने निर्णय गरेको थियो । समुदायका एक हजार नागरिकको स्वाब परीक्षण गरेर मात्रै बिर्तामोड नगरपालिकाले बन्दा बन्दी खोल्ने निर्णय गरेको हो ।

बिर्तामोड नगरपालिकाका मेयर ध्रुबकुमार शिवाकोटीले अब बिर्तामोड नगर शिल्ड नगर्ने, जहाँ समस्या देखिन्छ, त्यही मात्र शिलड गर्ने र सम्पूर्ण नगर शिल्ड गर्नुपर्ने अवस्था आएमा स्थानीय प्रशासनसँगको समन्वयमा कर्फ्यू लगाइने पनि जय लोकतन्त्र डटकमलाई बताउनुभयो ।
लक डाउन सबैका लागि नहुँदा पुलिस, पत्रकार र जनप्रतिनिधि कोरोनाको संक्रमणमा परेको हुँदा लक डाउन भन्दा कफर््यू लगाउनु उचित हुने सुझावहरु आइरहेको पनि बिर्तामोडका मेयर ध्रुव शिवाकोटीले जानकारी दिनुभयो । स्थानीय सरकारले जारी गरेको आदेशलाई नगरबासीले इमान्दारीपूर्वक पालना नगरिदिंदा समस्या झन् बल्झिएर गएकोे मेयर शिवाकोटीले दुखेसो गर्नुभयो ।
शारीरिक अस्वस्थताकाबीच पनि जनताको स्वस्थ्य र सुरक्षमा आफू दिनरात नभनी खटेको तर जनस्तरबाट परिस्थितिको संवेदनशीलतालाई गम्भिरापूर्वक मनन् नभएकोले समस्या आएको मेयर शिवाकोटीको भनाई थियो ।


सम्भावित जोखिम कायमै रहेपनि आवश्यक स्वास्थ्य सुरक्षा सतर्कतासहित लक डाउन खोल्ने निर्णय भएको नगरपालिका स्रोतले जनाएको छ । लक डाउन खुलेसँगै सोमवारदेखि बिर्तामोड बजार पनि खुल्ने छ ।

बिर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटीको अपील ।
आदरणीय नगरबासी दाजुभाइ तथा दिदी बहिनीहरु,

विश्वमा महामारीको रुपमा बढ्दै गएको कोभिड १९(कोरोना)को संक्रमण रोकथामका लागि सरकारी तथा समुदायबाट विभिन्न प्रयासहरु भइरहेका छन् ।
बिर्तामोड नगरपालिका क्षेत्रमा पनि यसको संक्रमण बढेर गएको अवस्थामा यसको नियन्त्रण र निराकरणका लागि नगरको स्वास्थ्य यूनिट अहोरात्र नगरबासीहरुको स्वास्थ सुरक्षाका लागि अहोरात्र लागिरहेको छ ।
वर्तमान अवस्थालाई मध्यनजर गर्र्दे नगरस्तरमा गठित कोरोना संक्रमण रोकथाम तथा ब्यवस्थापन समितिको निर्णय अनुसार बिर्तामोडलाई सुरक्षित र जोखिममुक्त राख्नका लागि गत साउन १८ गते राति १२ बजेदेखि लागू गरिएको लकडाउन साउन २५ गते राति १२ बजेदेखि लागू हुने गरी खुल्ला गरिएको सर्वप्रथम जानकारी गराउँछौ ।
यस अबधिमा नगरपालिकाले नगरबासीहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिदैं बिशेषगरी अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्र्मी, नगरका प्रहरी, जनप्रतिनिधि, संचारकर्मी, औषधि ब्यवसायी, बैक तथा बित्तीय संस्थाका कर्मचारीहरु र संक्रमित ब्यक्तिहरुको सम्पर्कमा आइ जोखिममा परेका ब्यक्तिहरुको मास स्क्रिनिंग गरिएको छ । आजसम्ममा २२ सय ४३ को पीसीआर परीक्षण गरिएको, जसमा १५ सय ४ जनाको रिपोर्ट आएकोमा १० जनामा मात्र कोरोनाको संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ जना उपचार पछि घर फर्किसकेका छन् भने २ जना उपचाररत छन् । ७ सय ३९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
यस प्रकारका महामारी र संक्रमणको जोखिमबाट मुक्त रहन सरकारी एकल प्रयासबाट मात्र सम्भव छैन । जनतामा पनि जागरुकता र तत्परता हुन आवश्यक हुन्छ । कोरोनाको समुदायमा संक्रमण फैलन नदिन र यसको रोकथामका लागि समुदाय नै बढी सचेत हुनुपर्ने हुन्छ । कोेभिड १९ (कोरोना) समुदायस्तरमा फैलन सक्ने अवस्थालाई नियन्त्रण गर्नका लागि नगरपालिका र नगरका स्वास्थ्यकर्मीले गरेको आहुवानलाई जनस्तरबाट पालना भएमात्र यसको जोखिम कम गर्न सकिने तथ्यलाई सबैले आत्मसात गर्नु पर्दछ । नत्र यो महामारीबाट जोगिन सकिने सम्भावना कम हुन जान्छ ।
बिर्तामोड आफैँमा भिडभाडयुक्त क्षेत्र हो । एउटा मुख्य ब्यापारिक केन्द्र भएका कारण र सरकारी कार्यालय, गैर सरकारी संस्था, उद्योग, ब्यवसाय, कृषि उपज केन्द्र, संचार, बैक, बित्तीय संस्था, संस्थानका कार्यालयहरु धेरै संख्यामा रहेका कारणले पनि यहाँ धेरै आवतजावत हुनु स्वाभाविकै हो । तसर्थ, आफैँ सचेत बनेर आफ्ना दैनिक क्रियाकलाप संचालन गर्दै नगरलाई सुरक्षित राख्ने नगरपालिकाको अभियानमा सहयोग गर्न नगरबासीलाई आह्वान गर्दछौं । अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र कुनैपनि भिडभाड हुने सामाजिक गतिबिधि, क्रियाकलाप नगर्न र स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गर्दछौं ।
नगरले क्वारेन्टाइनको रेखदेख ब्यवस्थापन, निगरानी कन्ट्याक्ट ट्ेसिंग, खोजपडताल तथा ब्यवस्थापनका कामहरु निरन्तर गरिरहेको छ भने यसलाई अझै ब्यवस्थितरुपमा निरन्तरता दिने योजना रहेको छ । पीसीआर परीक्षणको दायरालाई बढाउँदै आइसोलेसन वार्ड बनाउन पनि पहल भइरहेको छ ।
आवश्यकता अनुसार होम क्वारेन्टाइनको ब्यवस्थालाई प्राथमिकता दिदै पीसीआर गर्नुपर्ने दायराका ब्यक्तिहरुको पहिचान गर्ने कार्य जारी नै रहेको हुँदा कोरोनाको शंका लागेका ब्यक्तिहरुले तत्कालै नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गर्न अपिल गर्दछौं ।
अन्त्यमा, सम्पूर्ण नगरबासीहरुमा सहनशील, धैर्य र संमयमता अपनाउन आग्रह गर्दछौंं । साथै, नगरलाई सुरक्षित राख्न र जनताको स्वास्थलाई ख्यालमा राखेर कार्य गर्न सबै राजनीतिक दल, संघ संस्था र समुदायहरुबाट सदाझैं सहयोगको अपेक्षा गर्दछौं । आफू पनि बचौं र अरुलाई पनि बचाऊ । धन्यबाद

                                                           ध्रुवकुमार शिवाकोटी
                                                            नगर प्रमुख ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here