महामारीमा उपचार नगर्ने सरकार किन चाहियो ?

0
55

बिर्तामोड । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले संकट र महाबिपत्तिमा परेको बेला जनताको संरक्षण नगर्ने सरकार किन चाहियो ? भनी प्रश्न गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचार गर्नबाट पन्छिएसँगै ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफैंले गरेको बताएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउनुभएको छ । सरकारले कोरोनाबाट संक्रमितहरुले अब औषधोपचार लगायतका खर्च आफैं गर्नुपर्ने, सरकारले कोरोना संक्रमितको उपचार नगर्ने बताएसँगै काँग्रेसको यस्तो प्रतिक्रिया आएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको हो । संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन । सर्वोच्च अदालतले केही अघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ ।’
कोरोना महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेकोे वर्तमान सरकारले परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णय अत्यन्तै गैह्रजिम्मेवार व्यवहार भएको कांग्रेसको आरोप छ । सर्वोच्च अदालतले समेत कोरोना संक्रमितको सबै उपचार राज्यले नै गर्नुपर्ने आदेश दिएपनि गरीब सर्वहाराको सरकार दावी गर्ने नेकपाको वर्तमान सरकारले जनताको उपचार अब नगर्ने बताएपछि सर्वत्र ब्यापक बिरोध हुँदै आएको छ ।
कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरु तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभिरको कालोबजारी, अव्यवस्थित क्वारेन्टिन र शव व्यवस्थापनसम्म लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
सांसद विकास कोष, दसैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य रहेको भन्दै कोरोना परीक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन कांग्रेसले सरकारसँग आग्रह पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here