विपन्न परिवारलाई बाख्रा वितरण

0
59

खुदुनाबारी । आर्थिक विपन्न घरपरिवारलाई अर्जुनधारा नगरपालिकाले बाख्रा पालनको माध्यमबाट आत्मनिर्भर बनाउने अभियान सञ्चालन गरेको छ ।
नगरको पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाले व्यावसायिक बाख्रा पालनको माध्यमबाट आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले अर्जुनधारा–३ स्थित भित्रीगाउँका विपन्न परिवारलाई आइतबार एक कार्यक्रमकोबीच निःशुल्क बाख्रा वितरण गरेको हो ।
शाखाले गत आर्थिक वर्षदेखि सुरु गरेको भित्रीगाउँ नयाँ बाख्रा पकेट प्याकेज कार्यक्रम अन्तर्गत सो गाउँका २२ परिवारलाई चार वटाका दरले ८८ वटा बाख्रा वितरण गरेको शाखा प्रमुख पदमलाल राईले जानकारी दिनुभयो । गत आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार पहिलो चरणमा समूह गठन, बाख्रा पालनसम्बन्धी तालिम, खोर निर्माण तथा घाँसको बीऊ वितरण गरेको शाखाले दोस्रो चरणमा उक्त बाख्राहरु वितरण गरेको हो ।
भित्रीगाँउ नयाँ बाख्रापालन समूहकी अध्यक्ष अनुपा मग्रातीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले नगरमा रहेका बासिन्दाहरु मागिखाने भन्दा, गरिखाने होऊन् भन्ने उद्देश्यले किसानलाई बाख्रा वितरण गरिएको बताउनुभयो ।
नगरले उपलब्ध गराएको बाख्रालाई बीऊ पुँजीको रुपमा लिन नगर प्रमुख रानाले आग्रह गर्नुभयो । कार्यक्रममा नगर प्रमुख रानासँगै उपप्रमुख कमला खतिवडा आचार्य, वडाध्यक्ष जीवकुमार भण्डारी, नगर आर्थिक समितिकी संयोजक दिलमाया दासलगायतले स्थानीय केदार भट्ट र चित्रकला रम्तेललाई बाख्रा वितरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
बाख्रा पाउनेहरुमा अनुपा मग्राती, ओमकुमारी वि.क., उर्मिला ठटाल, उर्मिला पौड्याल, कमला बराइली, कृष्णप्रसाद न्यौपाने, खड्गबहादुर रम्तेल, गीतादेवी भट्टराई, गोमादेवी श्रेष्ठ, देवीमाया न्यौपाने, धनमाया दर्जी, नेत्रप्रसाद अधिकारी, नैना कुँवर, पवित्रा पौड्याल, फूलमाया दर्जी, मनमाया बोहोरा, मनमाया तामाङ, संगिता श्रेष्ठ, सावित्रा धमला र ज्ञानप्रसाद न्यौपाने रहनुभएको छ ।
वितरण गरिएको बाख्राहरुको मूल्य ढुवानीसहित सात लाख रुपैयाँ रहेको पशु शाखा प्रमुख पदम राईले जानकारी दिनुभयो । त्यसैगरी सोही कार्यक्रममार्फत् उनीहरुलाई खोर निर्माण गर्न साझेदारीरुपमा दुई लाख रुपैयाँ र ९० हजार रुपैयाँ बराबरको भिटामिन समेत वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रमुख राईले गरेका थिए ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here