उत्पादन घट्दा चिया किसान र उद्योगी समस्यामा

0
53

बिर्तामोड । पूर्वी नेपालको पाँचथर, धनकुटा, इलाम र झापा जिल्लाकाप्रमुख नगदे बालीको रुपमा स्थापित चियाको उत्पादन यो बर्ष घटेको छ । आवश्यकताभन्दा धेरै पानी परेको र उत्पादनको सिजनमा रसायनिक मलको अभाव हुँदा हरियो चियापत्ती उत्पादनमा दोब्बरले कमी आएको पीडित किसान र उद्योगीहरुले गुनासो गरेका छन् ।
मुख्य सिजनको फस्ट फ्लस (पहिलो टिपाइ)मा राम्रै उत्पादन भए पनि दोस्रो फ्लसमा ३० प्रतिशतले उत्पादन घटेको बताउँनुहुन्छ् इलाम नगरपालिका– १ साखेजुङका ग्रीन हिल चिया प्रशोधन उद्योगका सञ्चालक टंक दाहाल । पानीको मात्रा धेरै र घाम नलाग्दा जमिन नतातेका कारण मुना पलाउन नपाएको भन्दै दाहाल भन्छन्– ‘असारदेखि निरन्तर पानी परेका कारण चियाको मुना पलाएको छैन र पलाएको पनि डढुवा, फोके जस्ता रोग लागेर बोटमै कुहिएको छ । अग्र्यानिक बगान हुनेहरुको श्रावणदेखि नै रोग लाग्न थालेको छ ।’
लकडाउनले गर्दा तयारी चिया बजारसम्म पु¥याउन नपाउँदा गोदाममै थन्किने अवस्था रहेको र बैंकले बारम्बार ताकेता गर्दै आएको दाहाल बताउँछन् । यो बर्ष चिया उत्पादनमा कमी आउनुको मुख्य कारण अनुकूल मौसम र मल उपलब्ध नहुनु नै मुख्य कारण भएको – चिया विशेषज्ञ आरसी नेपाल बताउनुहुन्छ ।


विगतका बर्षमा भन्दा यो बर्ष धेरै पानी पर्नु चियाका लागि घातक बनेको बताउँदै नेपाल भन्नुहुन्छ– ‘पानी परेसँगै चियामा ‘फोके’ रोगको समस्या देखिएको छ भने अग्र्यानिक र ननअग्र्यानिक दुबै बगानका लागि मल उपलब्ध नहुनु मुख्य समस्या हो । कोरोनाका कारण कतिपय ठूला बगानहरुमा कामदार नभएको अवस्था रहेको छ भने अन्तर्राष्ट्रिय बजारमा प्रशोधित चिया पु¥याउन नसक्दा उद्यमीहरु समेत मार्कामा परेको नेपाल बताउँछन् । धेरै उद्योगले गुणस्तरीय उत्पादनमा जोड दिँदै आएका छन् ।’
नेपाल सरकार स्थानीय प्रदेशले तत्काल आवश्यक मल उपलब्ध गराउनुपर्ने भन्दै नेपाल भन्नुहुन्छ– ‘अग्र्यानिक बगान भएका किसानका लागि कम्पोस्ट तथा जैविक मल उपलब्ध र स्थानीय स्तरमै मल, औषधि उत्पादन गराउने प्रविधिमा जोड दिनुपर्छ ।’ सरकारले उत्पादित चियाको बजारीकरणमा जोड दिनुपर्ने र नेपाली चियाको लोगो नभएकाले तत्काल लोगो कार्यान्वयन गर्नुपर्नेमा नेपाल जोड दिन्छन् । दीर्घकालीन बजार योजना अनुसार बजारीकरण योजना बनाइ तत्काल कार्यान्वयन गरी अग्र्यानिक उत्पादनमा जोड दिनुपर्ने नेपालको भनाइ रहेको छ ।
इलामका ८५ चिया कारखानाले अर्थोडक्स चिया उत्पादन गर्दै आएका छन् । इलाममा तीन हजार तीन सय ९३ हेक्टरमा चिया खेती हुँदै आएको छ भने जिल्लामा बार्षिक ४८ लाख केजी तयारी चिया उत्पादन हुने गरेको छ । अघिल्लो बर्ष ७० रुपैयाँप्रति केजीसम्म बिक्री भएको हरियो पत्तीको यो सिजनमा अग्र्यानिक मूल्य ६८ रुपैयाँ भए पनि नन्अग्र्यानिक चिया २० देखि ३० रुपैयाँमा कारोबार भएको कृषकहरू बताउँछन् ।
लकडाउनका कारण उत्पादित चिया बिक्री गर्न नसकिएको भन्दै कारखानाहरुले चियाको मूल्य पोहोरको भन्दा कम तोकेको सञ्चालकहरुको भनाइ रहेको छ । सरकारले चियाका लागि पर्याप्त युरिया मल उपलब्ध नगराउनु, पर्याप्त श्रमिक नहुनु, उत्पादित चियाको उचित मूल्य नपाउनु मुख्य समस्या रहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here