मजदूरलाई कामको ज्याला समयमै देऊ

0
86

बिर्तामोड । बर्सौंदेखि बगानमा कार्यरत पूर्वी नेपालका चिया मजदुरले आफूले काम गरिसकेको ज्याला नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी चिया मजदुरले तत्काल ज्याला पाउनुपर्ने माग दोहोर्याएका हुन् ।
२०७५ साउनदेखि वृद्धि भएको १०७ रुपैयाँ बराबरको रकम २०७६ चैत मसान्त सम्ममा भुक्तानी दिइसक्ने भनिए पनि चिया उद्योगीले नदिएको मजदुर संघसंगठनको गुनासो छ ।
नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघको केन्द्रीय समितिले पत्रकार सम्मेलन गरी यसअघि भएको सम्झौता कार्यान्वयन गर्न चिया उद्योगीलाई अनुरोध गरेका छन् ।
चिया मजदुरको समस्याप्रति रोजगारदाताहरु संवेदनशील नभएको उनीहरूको गुनासो छ । कोरोना संक्रमणको महामारी भइरहँदा पनि चिया मजदुर निरन्तर काममा सक्रिय छन् ।


नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले बढदो महंगीलाई ध्यानमा राखेर चिया मजदुरको ज्याला वृद्धि गर्नुपर्ने बताउनुभयो । श्रम ऐन २०७४ को दफा १०६ मा प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने व्यवस्था छ ।
अखिल नेपाल ट्रेड युनियन प्रदेश १ का इञ्चार्ज भूपाल सापकोटाले महामारीको बेला समेत जोखिम मोलेर मजदूरले रगत पसिना बगाएको भन्दै काम गरेको ज्याला नदिए चिया उद्योगीविरुद्ध आन्दोलनमा जानुको विकल्प नभएको जनाउनुभयो ।
‘चियाको मूल्य अधिकतम् बृद्धि भएको छ’, सापकोटाले भन्नुभयो, ‘यस्तो अवस्थामा पनि मजदूरलाई काम गरेको ज्याला नदिनु भनेको हदैसम्मको अन्याय हो । जोखिम मोलेर काम गरिरहँदा पनि चिया मजदुरले काम गरेको ज्याला नपाएको अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटाले बताउनुभयो ।
नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका उपाध्यक्ष सहीकुमार राई महामारीको बेला सुरक्षाको पर्याप्त व्यवस्था नभए पनि चिया मजदुरले जोखिम मोलेर काम गरेको बताउँछन् । उनले महामारीबाट बच्न आवश्यक सुरक्षा सामग्रीको उचित व्यवस्थापन गर्न पनि रोजगारदातासँग माग गरेका छन् ।
प्रचलित कानुनअनुसार चिया मजदुरको पारिश्रमिक पुनरावलोकन गर्ने बेला भएको हो । चिया मजदुरले आफूले तिरेको सामाजिक सुरक्षा कोषबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनुपरेको भन्दै चिया श्रमिकहरुलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्न पनि माग गरेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here