नयाँ वर्षको शुभकामना

0

वर्ष २०७७ नेपालका लागि खासै उत्साहजनक हुन सकेन । यो वर्ष विश्वव्यापी महामारीको रुपमा फैफिएको कोभिड १९ का कारण संकटग्रस्त बन्यो हाम्रो मुलुक पनि । कुल ग्रहस्त उत्पादनमा कमी आउनु, व्यापार घाटा कायमै रहनु, राजश्व संकलनको दर र दायर खुम्चिनु, नयाँ र ठूला बिकास योजनाको निर्माण र कार्यान्वयनका दृष्टिले यो वर्ष निकै कमजोर देखिएको छ । कोभिडका कारण धन, जनको क्षति व्यहोर्नु परेको छ मुलुकले । बेरोजगारी दर अत्यधिक बढेको छ । महंगी र अभावले देश र जनता छटपटाईरहेका छन् । शासकलाई केही पर्वाह छैन । शासकका नजरमा सब ठीक भएको छ । यस्तो ऐतिहासिक सफलता र उन्नति त कहिल्यै कुनै शासकले प्राप्त गरेकै थिएनन् भन्ने भ्रममा जीवित छन् अहिलेका शासकवर्ग जनतालाई ढाँटेर बेवकुफ बनाउने दुष्प्रयासमा लागेका छन् । आत्मरतिमा रमाउने नालायक गफाडी शासकले चलाएको वर्तमानको हाम्रो मुलुकले अझै ठूलो दुःख पाउने स्थिति छ ।
आर्थिक दृष्टिकोणले थला परेको मुलुकलाई प्रधानमन्त्री केपी आलीले राजनैतिक रुपमा समेत संवैधानिक संकटको सिर्जना गराइदिनु भो । असंवैधानिक रुपमा प्रतिनिधिसभा बिघटन, प्रेसलाई नियन्त्रण गर्न मिडिया काउन्सील बिधेयक ल्याइनु, सांसद अपहरण, दल बिभाजन सम्बन्धी अध्यादेश, ओम्नी, ह्वाइट बडी, यती होल्डिङ्ग, सेक्युरिटी प्रेस खरिद, औषधी खरिदमा भ्रष्टाचार, लगायत खर्बौं रकमको भ्रष्टाचारको दलदलमा फँसेको ओली सरकारले राज्यका निकायहरुमा आफ्ना कार्यकर्ता भर्ती गर्नेदेखि राज्यको स्रोत र साधनमाथि चरम दुरुपयोग गर्ने भ्रष्ट मण्डले प्रवृत्ति र चरित्र देखाएको छ । देशको इज्जत अन्तर्राष्ट्रिय जगतमा खस्किएको छ । मानव अधिकारको रक्षा, प्रेस स्वतन्त्रता, न्यायको दृष्टिले त ओली सरकार इतिहासकै निकम्मा र नालायक सावित भएकै छ । यस्तो बेकामे सरकारलाई सत्तामा राखिरहने माओवादी र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको लाचारी पनि मुलुकको बर्वादी निम्ति त्यतिकै सहायक छ ।
बितेको वर्ष त मुठ्ठीभर दलाल, शोषक, सामन्त, माफिया र चाकरीवाजहरुका लागि स्वर्णिम अवसर नै थियो, देश लुट्नका लागि । तर स्वाभिमानी जनता, राष्ट्रसेवक र इमान्दार राजनीतिक कर्मीहरुका लागि भने दुःख, कष्ट र निराशाको वर्ष रह्यो २०७७ । आजबाट शुरुभएको नयाँवर्ष २०७८ ले देशमा शान्ति, बिकास, अमन चैन, समृद्धि र निकासका ढोकाहरु खोल्न सकुन । मुलुकको बिग्रिएको अर्थतन्त्र र धर्मराएको लोकतन्त्रलाई ठिङ्ग उभिनसक्ने बनाउन सकियोस । सबै नेपालीका मुहारमा खुसियाली ल्याउन सकियोस् । निषेध र बिभेद्को राजनीतिको अन्य होस् । देश लोकतान्त्रिक विधि, पद्धति र प्रकृयाबाट मात्र चलोस, कुनै मुढी वा सन्की शासकले लोकतन्त्रको हुर्मत लिने काम नगरोस् । देशभित्रै राजगारीका अवसरहरु सिर्जना हुन सकुन् । सबै नेपालीलाई मेरो देश, मेरो पनि सरकार भन्ने अनुभूति हुनेगरी चाँडै परिवर्तन हुन सकोस । नयाँ वर्षको यही छ शुभकामना । २०७८ बैशाख १ गतेको सम्पादकीय टिप्पणी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here