बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक व्यवसायिक प्यानलको उम्मेद्वारी घोषणा

0

विर्तामोड । विर्तामोड उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि प्रकाश शिवाकोटीको नेतृत्वमा लोकतान्त्रिक व्यवसायिक प्यानलको उम्मेद्वारी घोषणा गरेको छ ।
विर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेद्वारीको घोषणा गरेको हो ।
लोकतान्त्रिक व्यवसायिक प्यानलको वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्ष सञ्जीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे, जनसम्पर्क महिला उपाध्यक्षमा नैनकला भट्टराई, महासचिवमा रविन्द्र भट्टराई, उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा राजकुमार साह, कोषाध्यक्षमा दिपेन्द्र राउत र सहकोषाध्यक्षमा राधिका चुडाल हुमागाँई उम्मेद्वार बन्नु भएको छ ।


त्यसैगरी महिला सदस्यमा तिलोत्तमा खत्री र तुलसा ढकाल उम्मेद्वार बन्नु भएको छ । यसरी नै खुल्ला सदस्यतर्फ लोकतान्त्रिक प्यानलबाट विशाल थापा, सनी गोयल, विकास बस्नेत, दिपक अग्रवाल, मनोज रौनियार, पुकार बराल र बलराम सिटौला (राम) उम्मेद्वार रहनु भएको छ ।
लोकतान्त्रिक व्यवसायिक प्यानलको तर्फबाट २६ बुँदे साझा प्रतिवद्धता जाहेर गर्दै उद्योगी, व्यवसायी तथा उद्योग, व्यवसाय क्षेत्रलाई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउँदै रात्रीकालीन बजार सञ्चालनको वातावरण बनाउने, विर्तामोडलाई बन्द हडताल र चन्दा मुक्त बनाउँदै, शान्तिपूर्ण व्यवसायिक वातावरण बनाउने, प्रत्येक व्यवसायिको विवरण डिजिटल प्रविधिमा राखि व्यवसायिलाई स्मार्ट परिचयपत्र वितरण गर्ने सवाललाई प्राथमिकताका साथ उठाइएको छ ।
त्यसैगरी कोरोना भाइरसबाट खस्किएको उद्योग, व्यापार तथा व्यवसायलाई सवल र सक्षम बनाउन स्थानीय प्रदेश र संघीय सरकारसंग समन्वय गरी करको दरलाई न्यूनिकरण गर्ने, महिला उद्यमशीलताको विकास गर्न सामुदायिक महिला व्यवसायिक सेन्टर निर्माण गरी महिलाले उत्पादन गरेका सामग्रीको राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्ने, घर धनी र व्यवसायीहरुबीच देखिंदै आएको कतिपय असमझदारीलाई स्थानीय निकायसहितको समन्वयमा समाधान गर्ने, उद्योग व्यापार क्षेत्रमा आवद्ध श्रमिक कर्मचारी र उद्योगी, व्यवसायी र व्यापारीबीच देखिएको भाडा र लोडअनलोड लगायतका समस्यालाई बैज्ञानिक ढंगले समाधान गरी व्यवसाय मैत्री वातावरणका लागि पहल गर्ने लगायतका प्रतिवद्धता अघि सारेको छ ।


त्यसैगरी कृषि उत्पादन र उद्योगलाई प्रवद्र्धन गर्न समयमै मल बिउको व्यवस्था मिलाउदै कृषिको व्यवसायिकरणमा जोड दिने, विर्तामोड बजारलाई हरित नगर निर्माण गर्ने, फोहोर व्यवस्थापन, सिसी क्यामरा जडान अन्तर्राष्ट्रिय मेलाको आयोजना गरी नेपाली उत्पादनको बजार प्रवद्र्धनमा क्रियाशील रहने प्रतिवद्धता पत्रमा जनाइएको छ ।
यसैगरी विर्तामोड क्षेत्रको अव्यवस्थित बाटोघाटो, धुवाँ धुलो, पार्किङका कारण व्यवसाय र उपभोक्ताले भोग्नु परेको समस्या समाधानमा क्रियाशील रहँदै उद्योग व्यवसाय सञ्चालनका क्रममा देखिएका कानूनी र प्रक्रियागत झण्झटलाई सहजीकरण गर्दै व्यापारी व्यवसायीलाई हिसाब किताब र खाता व्यवस्थित राख्न तालिम दिइने जनाइएको छ ।
लोकतान्त्रिक प्यानलको उम्मेद्वारी घोषणासभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले विर्तामोडका उद्योगी, व्यापारी, व्यवसायी र आम उपभोक्ताको हितका निमित्त लोकतान्त्रिक व्यवसायिक प्यानलका सबै उम्मेद्वारलाई विजयी गराउन आह्वान गर्नुभयो ।
त्यसैगरी नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले नेपालको उद्योग व्यवसाय क्षेत्र उदार अर्थतन्त्रमा विश्वास राख्ने लोकतन्त्रवादी उद्योगी व्यवसायी र व्यापारहिरुले नै थामेको हुँदा लोकतान्त्रिक व्यानलको जीत सुनिश्चित रहेको बताउनु भयो ।
देउमान थेवेले उम्मेद्वारको नामावली घोषणा गर्नुभएको सभामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डेसहितले सम्बोधन गर्नुभएको कार्यक्रमको सञ्चालन विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गनुृभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here